चलचित्र बनाउँदै दिलिप, यस्तो छ अमेरिका जानुको कारण

लोकप्रियताको लोभ नहुने मान्छे सायदै होलान् । यहि लोभका कारण दिलिप रायमाझी पनि डान्सरबाट नायक बने । नाच्न जान्ने नायकको रुपमा नाम स्थापित गराए । हिट हिरो राजेश हमाल, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ लगायलाई डान्स स्टेप पनि सिकाए । र उनीहरुको पछाडि नाच्दा नाच्दै अन्नतः चलचित्र भानुभक्त मार्फत उनी नायक बने । 

हिरो बन्नु उनको सोचाई भन्दा टाढाको कुरा थियो । किनकी त्यो समय चौडा छाति, अग्लो शरिर भएकाहरु मात्रै नायक बन्न लायक मानिन्थे । न त उनको शरिर सुगठिलो थियो न त अग्लो कद नै । त्यसैले दिलिप ग्रुप डान्समै चित्त बुझाउँथे । कहिले काहिँ सानो तिनो भूमिका गरेर कलाकार बन्ने सपना देख्थे । तर, जब छायाँकनको समयमा फ्यानका अगाडि हिरोहरुको शान देख्थे तब लोकप्रिय बन्ने लालसा उनमा पनि पलाउँथ्यो । उनी सम्झन्छन्, “शिव श्रेष्ठ दाईसँग सुटिङमा थियौँ । उहाँलाई फ्यानहरुले बोलाउँथे । नजिक हुन खोज्थे । यो देख्दा लोकप्रियताको एकदमै लोभ लागेर आउँथ्यो ।”


दिलिपको टर्निङ पोइन्ट
विरेन्द्र अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र (अहिलेको संसद भवन) उनको टर्निङ पोइन्ट हो । वि.सं २०५३ सालमा भएको मोसन पिक्चर अवार्डमा उनले त्यहाँको स्टेजमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । उनको नृत्यलाई मन पराएर प्रशंसा गर्नेहरु धेरै भेटिए । सार्वजनिक बसमा यात्रा गर्दै गर्दा नृत्य राम्रो लाग्यो भन्नेहरु भेट्दा उनलाई छुट्टै आनन्द लाग्थो । यो अवार्डपछि नै उनलाई यादव खरेलले चलचित्र भानुभक्तमा अभिनय गर्ने प्रस्ताव गरे । तुलसी घिमिरे र नारायण पुरीको चलचित्रमा पनि अनुबन्ध भए । दिलिपको नायकको रुपमा डेब्यु चलचित्र भानुभक्त हो । यादव खरेल निर्देशीत यो चलचित्रले दिलिपको लोकप्रियता त खासै बढाएन । यद्यपी, अन्य चलचित्रहरुमा अभिनयको अवसर भने खुला गरिदियो । 



"दर्पणछायाँ" ले पाए दर्शकको माया
उनलाई नसोचेको लोकप्रियता दिएको चलचित्र हो दर्पणछायाँ । निर्देशक तुलसी घिमिरेले दिलिपलाई हेरेरै चलचित्रको स्कृप्ट तयार पारेका थिए । भानुभक्त पछि केहि चलचित्रमा अभिनय गरिसकेका दिलिपको व्यस्तता बढ्दो थियो । तर, चर्चा र लाकप्रियता भने खासै थिएन । त्यसैले दर्पणछाँयालाई पनि उनले सामान्य चलचित्रको रुपमा लिएका थिए । दिलिप भन्छन्, “दर्पणछाँयाबाट पनि खासै आश गरेको थिइन । त्यतिबेला हलहलमा जाने चलन थियो । चलचित्र प्रर्दशन भएपछि हामी धरान, बिर्तामोडलगायतका हलमा गएका थियौँ । खासै उत्साह थिएन । हलवाला साहु चाहिँ चलचित्रमा फाइट भएन भनेर गुनासो पोख्दै थिए । मलाई चाहिँ नायकको रुपमा परिचित हुन्छु भन्ने लाग्नै छाडेको थियो ।” चलचित्र प्रर्दशनमा आएको एक महिनापछि निर्देशक तुलसी घिमिरेले दिलिपलाई फोन गरे ।

चलचित्रले ५१ दिन मनाउला जस्तो छ भन्दै पूर्व जाने कुरा गरे । दिलिपलाई भने तुलसी घिमिरेले गफ दिएजस्तो लाग्यो । नभन्दै चलचित्रले ५१ दिन मनाउनु दुई दिन अघि घिमिरेले बिर्तामोड जान प्रस्ताव गरे । “बिर्तामोड बजारमा निकै चहलपहल र भिडभाड थियो । शहरै उल्टेर आएको रहेछ । पहिला वास्ता नगरेका दर्शकले गरेको स्वागत र मायाले तीनछक परेँ,” दिलिपले पुराना दिन सम्झिए । दर्पणछाँयाको सफलतापछि बल्ल उनलाई चलचित्रमा टिकिन्छ कि भन्ने लाग्यो । तर, दर्पणछाँया हिट नहुँदै दिलिप ७, ८ वटा चलचित्रमा अनुबन्ध भइसकेका थिए । त्यसकारण उनको लोकप्रियता र व्यस्तता ह्वात्तै बढे पनि पारिश्रमीक भने बढ्न सकेन । 


बोराका बोरा चिठ्ठी आउँथे दिलिपलाई
उनी यति ब्यस्त बने की उनका हातमा चलचित्रहरुको थुप्रो लाग्यो । र उनले पात्रमा डुब्ने मौका पाएनन् । चलचित्र कहिले सकौँ झैँ मात्र लाग्थ्यो, उनी सम्झन्छन् । यो नसोचेको लोकप्रियतासँगै उनले अन्र्तवार्ताका क्रममा आफ्नो पत्राचार ठेगाना छोडेका थिए । उक्त ठेगानामा फ्यानहरुका बोराका बोरा पत्र आएको उनी अहिले पनि झलझल्ती सम्झन्छन् । उनी सकेसम्म चिठ्ठीको उत्तर पठाउने प्रयास गर्थे । व्यस्तताका कारण कतिपय फ्यानलाई उत्तर पठाउन नपाएकोमा दिलिप आजको दिनमा पनि क्षमा माग्ने गर्छन् । 



छोरिको लागि अमरिका गएका थिए दिलिप
दिलिप रायमाझी केहि समय अघि परिवारसहित अमेरिका गए । नेपाली चलचित्र क्षेत्रमा एक समय सुपरस्टारको परिचय बनाएका कलाकार अमेरिका जाँदा अनेक टिका–टिप्पणी भए । धेरैले उनलाई पलाएन भयो भने । अब दीलिप अमेरिका भासियो, देशलाई माया मार्यो भनेर गाली पनि गरे । अनेक टिकाटिप्पणी सुने पनि दीलिप चुप बसे । वास्तविकता उनलाई मात्रै थाहा थियो । जित सत्यको हुन्छ भन्नेमा उनी अडिग थिए । उनी कुरा काट्नेको मुखलाई गतिलो जवाफ दिन चाहान्थे । उनी नेपाल फर्किए । हाल उनी नेपालमै छन् ।

आफु जन्मेको देश छाडेर उनी सधैँका लागि कसरि अमेरिका बस्न सक्थेँ । हाल नेपालमा रहेका दीलिपले कुरा काट्नेलाई गतिलो जवाफ दिएका छन । उनी भन्छन्, “म आठ महिना चाहिँ परिवारलाई सेटल गराउनका लागि अमेरिका भासिएकै हुँ । छोरीको पढाई र भविष्यका लागि हामी अमेरिका गएका थियौँ । छोरीको पढाई सकिएपछि फेरी नेपाल फर्कने सम्भावना छ । जहाँ भए पनि नेपाली कला संस्कृति प्रर्वद्धन भने गरिरहेको छु ।”


चलचित्र निर्माणको तयारी 
यस अघि उनले दुईओटा चलचित्र निर्माण गरिसकेका छन् । उनी पछिल्लो पटक चलचित्र बाटोमुनीको फूल २ मा देखिएका थिए । अमेरिकाबाट नेपाल आएको उनले भर्खरै नयाँ चलचित्रको छाँयाकन पनि सकाएका छन् । साथमा दिलिप आफ्नो लगानीमा तेश्रो चलचित्रमा निर्माणको तयारीमा जुटेका छन् । “एकै ठाउँमा खनिरहँदा एकदिन पक्कै पानी निस्कनेछ । आफुले जानेको बुझेको चलचित्र नै हो त्यसैले नयाँ चलचित्रको कथा तयार गर्दैछु,” उनले भने । कमेडी फ्लेवरमा निर्माण गर्न लागिएको उक्त चलचित्रको कथाले मागेमात्र आफु अभिनय गर्ने उनले बताएका छन् । नयाँ पिँढीका नायकहरुसँग प्रतिष्पर्धा गर्न निकै गाह्रो रहेको बताउँदै उनले आफ्ना कमजोरीहरु सुधार गरेर अघि बढ्ने बताए । 

Comments