थारु युवतीले बनाइन सबैलाइ चकित !

२२ बर्षिय थारु युवतीले बनाइन सबैलाइ चकित ! यसरी शानदार तरिकाले बनिन् स्थानीय सरकारको उपप्रमुख
पश्चिम तराईको कपिलवस्तु शिवराज नगरपालिका अनि शिवकुमारी थारु। नाममै केही तादात्म्य थियो। त्यही भएर होला, शिवराज नगरपालिका र शिवकुमारीले उम्मेदवार मनोनयनकै बेलादेखि धेरैको ध्यान खिचेको थियो।
त्यही भएर नेकपा एमालेको तर्फबाट उपमेयरमा टिकट पाएकै बेला शिवकुमारीले विशेष चर्चा पाइन्। सुरुमा चर्चाको मुख्य कारण उनको २३ वर्षे उमेर नै मुख्य देखियो।
तर चुनावी प्रचार प्रसारका क्रममा मत माग्दै जब उनी गाउँटोल डुल्दै भाषण गर्न थालिन्, उनको चर्चा शनैशनै बढ्यो। उसै त कान्छी उपमेयर उम्मेदवार, त्यसमाथि दमदार भाषण। उनले करिब ६ वर्ष कपिलवस्तुको रेडियो समानतामा थारु भाषामा कार्यक्रम चलाएको अनुभव यसबेला खुब काम लाग्यो।
पहिल्यैदेखि सार्वजनिक परिचय बनाएकी उनको चर्चा चुलिन बेर लागेन। थारु समुदायको सांस्कृतिक भेषभुषामा सजिएर उनी मातृभाषामै भोट माग्थिन्। मीठो स्वरमा सटिक भाषण गर्ने उज्याली शिवकुमारीको अनुहारमै आत्मविश्वास झल्किन्थ्यो। उनका यिनै विशेषताका कारण मतदाताहरु प्रभावित भए र उनलाई मतहाली कान्छी उपमेयर बनाए।
उनी ५ हजार मत ९६२ मत ल्याइ उपमेयरमा निर्वाचित भएकी हुन्। निकटतम प्रतिद्वन्दी भन्दा दोब्बर मत ल्याउँदै उनी ‘कान्छी’ उपमेयर बनेपछि चर्चामा छिन्।
यस्तो छ पृष्ठभूमि
२०५१ सालमा शिवराजको चैनपुरमा जन्मिएकी उनले परिवारको साथ पाएका कारण शिक्षाबाट वञ्चित हुनुपरेन। तर एसएलसी सकेलगत्तै सामाजिक चलन अनुसार कलिलो उमेरमै उनको गाउँले राजेन्द्र चौधरीसँग विवाह भयो। यतिबेला उनी १७ वर्षकी थिइन्।
धेरैजसो महिलाहरु विवाहपछि चाहेर पनि पढाइलाई निरन्तरता दिन पाउँदैनन्। तर शिवकुमारीको हकमा अर्कै कुरा भयो। उनले क्याम्पस पढ्ने अवसर मात्रै पाइनन्, पतिको घरबाट राजनीतिक शिक्षा पनि प्राप्त गरिन्। उनले नेपालखबरसँग भनिन्, ‘घरमा सासु, ससुरा र श्रीमान् सबै एमाले समर्थक। मेरो पनि बिस्तारै झुकाव बढ्यो।’
पढाइसँगै सामाजिक संस्थामा जागिर खाने क्रममा सामाजिक वस्तुस्थिति र राजनीतिबारे धेरै कुरा बुझ्ने मौका पाएको बताउँछिन् उनी। महिला हिंसा र बालविवाहलगायतका अनेक समस्याबारे यहीबेला परिचित भइन्। यसैक्रममा उनलाई लागेको रहेछ, ‘आखिरमा सबैभन्दा महत्वपूर्ण कुरा त राजनीति नै हो।’
सामाजिक रुपमा धेरै ठाउँ डुलेकी उनी गाउँकै विद्यालयमा पढाउँथिन्। तर पछिल्लो समय राजीनीतिप्रति आकर्षण बढेपछि उनी शिक्षण पेसा छोडेरै चुनावमा होम्मिइन्।
सामाजिक अभियन्ता र शिक्षिकाका रुपमा सामाजिक रुपमा घुलमिल भइसकेकी उनी उम्मेदवार बन्ने खबरले थारु समुदायमात्रै नभइ पुरै समाजलाई तरङ्गित पार्न सफल भइन्। सानो उमेरमै उनले देखाएको आँटलाई धेरैले सराहना गरे। एमालेको आधार बलियो भएको क्षेत्र भएकोले पनि शिवकुमारीलाई फाइदा भयो। एमालेले पनि उनको सकारात्मक छविलाई ‘क्यास’ गर्यो।
एक छोरीकी आमा शिवकुमारीका पति हाल कतारमा छन्। उनले फोनबाटै खुसी साटिन्, ‘उहाँले साथ नदिएको भए मैले कहाँ जित्थे र?’ लगत्तै खिन्नता पनि पोखिन्, ‘वहाँ पनि मेरो जित मनाउँदा सँगै भएको भए कति राम्रो हुन्थ्यो।’
मत हाल्ने शुभेच्छुककै मायाले जित हात पारेको बुझेकी उनले अन्तमा मतदातालाई ‘धेरै धन्यवाद’ भन्न भुलिनन्।
 स्रोत: नेपाल खबर

Comments